(१) देहायको अवस्थामा सम्बन्धित विभागले प्राइभेट फर्म खारेज गर्न सक्नेछ :–
(क) वाणिज्य व्यवसायसम्बन्धी प्राइभेट फर्मले तोकिएको अवधिभित्र नवीकरण नगराएमा,
(ख) प्राइभेट फर्मको धनीले मुनासिब कारण दर्शाइ आफनो प्राइभेट फर्म खारेज गरी पाउँ भनी सम्बन्धित विभागमा निवेदन दिएमा,
(ग) दफा ४ को उपदफा (३) को विपरीत हुने गरी कुनै कुरा ढाँटी प्राइभेट फर्म दर्ता गरेको ठहरिएमा,
(घ) सम्बन्धित विभागले दफा ७क. बमोजिमको विवरण माग गर्दा सम्बन्धित प्राइभेट फर्मले तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा,
(ङ) उद्योगसम्बन्धी प्राइभेट फर्मले कार्य सञ्चालन गरी सम्बन्धित विभागलाई जानकारी दिई वा नदिई उद्योग बन्द गरेमा,
(च) उद्योगसम्बन्धी प्राइभेट फर्मले नवीकरण गर्ने म्याद समाप्त भएको मितिले तोकिएको अवधिभित्र नवीकरण नगराएमा वा नवीकरण गराए पनि इजाजतको शर्त बमोजिम उद्योग स्थापना र सञ्चालन गर्नको लागि कारखाना निर्माण, मेशिनरी औजार वा उपकरणका खरीद वा उद्योग
सञ्चालनको लागि आवश्यक कार्य गरेको लिखित प्रगति विवरण सम्बन्धित विभागमा नदिएमा, वा
(छ) प्राइभेट फर्मले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी अन्य कुनै कार्य गरेमा ।
(२) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ), (च) वा (छ) बमोजिम सम्बन्धित विभागले प्राइभेट फर्म खारेज गर्नु अघि सम्बन्धित प्राइभेट फर्मलाई सफाईको सबूद पेश गर्ने उचित अवसर दिनु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ), (च) वा (छ) बमोजिम सम्बन्धित विभागबाट प्राइभेट फर्म खारेज भएमा त्यसरी खारेज भएको फर्मका धनीको नाममा एकवर्षसम्म सोही उद्देश्य भएको अर्को प्राइभेट फर्म रजिष्टर गरिने छैन ।